दफा २२
दरबन्दीको अभिलेख
(१) दफा ३ बमोजिम कायम भएको सङ्गठन संरचना, दरबन्दी र दफा १९ बमोजिमको पुल दरबन्दीको अभिलेख राष्ट्रिय किताबखानाले अद्यावधिक गरी राख्नेछ।
(२) राष्ट्रिय किताबखानाले यस ऐन बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहको सेवामा समायोजन भएका कर्मचारीको दरबन्दी र सङ्घमा कायम भएको दरबन्दीको छुट्टाछुट्टै अभिलेख राखी अद्यावधिक समेत गर्नेछ।
(३) उपदफा (२) बमोजिम राखिएको अभिलेख अनुसार प्रदेश तथा स्थानीय तहमा कायम भएको दरबन्दीलाई सङ्घमा कायम भएको दरबन्दीसँग मिलान गरी दरबन्दी सङ्ख्या यकिन गरिनेछ।
(४) यस ऐन बमोजिम समायोजनको कार्य समाप्त भएको भनी मन्त्रालयले लेखी पठाए पछि प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको राष्ट्रिय किताबखानामा रहेको अभिलेख सो किताबखानाले आवश्यकता अनुसार सम्बन्धित प्रदेश वा स्थानीय तहलाई उपलब्ध गराउनेछ।